Thursday, January 10, 2008


श्री खण्ड काठकी मादलु मेरो कमधेनुकी ताना ।
कासैकी बटुकी, बजाउ गुरु धमधम
श्री खण्डको काठको भनेतापनि मादलको घार छतिउन, खिर्रो, खमारी र दारको सबैभन्दा उत्तम मानिन्छ । बजाउनेहरूले सकेसम्म आफ्नो क्षेत्रमा पाइने राम्रो काठलाई खोपेर बनाउदछन । ताना, मथुरा, मैदान, भाले, पोथी र जुइनु यसका अंगहरू हुन ।
मादलको आकार र मगर जातिको मानिसहरूको आकारमा समरपता पाइन्छ । यो मगर (नाग) जातिको बाजा हो । पश्चिम नेपालदेखि पूर्वि नेपाल मात्र नभई नेपाली जाति पुगेको सबैजसो स्थानमा यो बाजा पाइन्छ । दुईमुखे मादल सजिलैसित गुरुहरूबाट सिक्न सकिन्छ । यसबाट निस्कने ध्वनी तरङ्गमा अग्नी तत्वको प्रभाब हुन्छ । किनकि यो बाजा मणिपूर क्षेत्रमा (कम्मरमा) राखेर बजाइन्छ । त्यसै कारण यो बाजामा नाच धेरै भएको हो । अग्नी तत्वको प्रभाब उध्र्वमूखि भएकोलेनै नाचका अनेकौं भेद, उफ्राइ, कुदाई र कम्पन यो बाजा सङ्गीतमा बढि छ ।
नाग जातिको राज्य बिस्तारमा पूर्वमा हिन्दपतिसेन संगको लडाईमा बालाराजा कासीराम थापाको जितको ईतिहास उल्लेख छ भारत गाथामा । हुनसक्छ इतिहासको त्यही कालखण्डबाट अपिशैपालको गल्डीबाट पूर्वसम्मको बिजय यात्रामा यो बाजाले साथ दिएको होला ।
यसका अनेकौं ताल, बोलहरू छन् । तैपनि सबैभन्दा ज्यादा बोल भएको मगरात क्षेत्र हो । मध्य पश्चिमाञ्चल र पश्चिमाञ्चल क्षेत्रमा अन्य स्थानभन्दा यसको ब्यापकता छ ।
चरित्र - यो ताल कृष्ण लीलाका गीतहरू गाउदा बजाइन्छ । गण्डकी क्षेत्रमा यो ताल ज्यादै प्रख्यात छ ।
झ्याउरे - यो झ्याउरे गीतमा बजाइने ताल हो । यो दुई प्रकारले बजाइन्छ । ढिलो र छिटो तालमा । ढिलो तालको झ्याउरेमा बिशेषत बियोगान्त गीतहरू बजाइन्छ भने छिटो तालमा प्रचलित लोकगीत र झ्याउरे नाचमा बजाइन्छ ।
ख्याली - यो ताल नेपालमा ज्यादै प्रचलित छ । पूर्वदेखि मध्यपश्चिमसम्म यो तालमा मादल बजाइन्छ । यस तालमा नाचिने नाचहरूमा तन्नेरीहरू ज्यादै फुर्तिसाथ नाच्दछन । बुढाहरू कम्मर अरररो पारेर समेत मादल बजाई नाच्ने गर्दछन ।
सोरठी - यो पूरानो लोकगाथामा आधारित ऐतिहासिक लोक सङ्गीतमा बजाइने ताल हो । यो ताल लामी र छोटी दुई तालमा बाजाइन्छ । लामी तालबाट सोरठीको गायन र नाच शुरु हुन्छ । छोटी तालमा राम्रो छोटो र रसिलो नाच भई टुङ्गाउने गरिन्छ । गण्डकी क्षेत्र यो तालको उदगम स्थल हो भन्ने लोक बिश्वास छ ।
समला - यो पूर्वि नेपालमा बाजाइने ताल हो । धनकुटा र आसपासका क्षेत्रबाट यसको उत्पत्ति भएको हो । यो तालमा अत्यन्तै गम्भिर र सुन्दर नाचको प्रर्दशन गरिन्छ । समला नामकी किरात बालाको नामबाट यसको नाम राखिएको हो भनिन्छ ।
बिरहिनी - बिरहमा परेकी नारीको अभिब्यक्ति बोकेको यो ताल पूर्वि नेपालमा प्रचलित ताल हो ।
गर्रा - यो अरुण उपत्यकामा प्रचलित मादलको ताल हो । यो तालमा धेरै फरक बोलमा मादल बजाइने प्रचलन छ ।
आषिषे - मारुनी नचाई सकेपछि आयोजकको मान राख्दै बजाइने ताललाई आषिशे ताल भनिन्छ । यो सिक्किम, दार्जिलिङ तिर प्रचलित छ ।
नेवारे ख्याली - यो नेवार जातीको मगः खिं -मादल) बजाउदा पूर्वी नेपालमा बजाईने ताल हो । यो ख्यालीबाट शुरु भई अन्य तालमा अन्त्य गरिने गरि बजाइन्छ । यसको दुई भेद छन । साधारण र तौथेली ।
मुर्रा - पूर्वी नेपालमा तथा दार्जिलिङ, सिक्किम तिर यो ताल बजाएर मादल बजाउन शुरु गरिन्छ अनि मात्र अरु ताल बजाइन्छ ।
ठाडो टप्पा - यो पनि पूर्वि नेपालमा बाजाइने ताल हो । कसैकसैले यो ताललाई लहरे टप्पा पनि भन्ने भनिन्छ ।
देवदिप - देवदेवीको आराधाना मात्र गर्दा बजाइने भएकोले यो ताललाई देवदिप भनिएको हुनसक्छ ।
ठोकन - यो ताल मादलेहरूले आफनो गर्राको रक्षाको लागि ईष्ट आराधाना गर्दा बजाईने ताल हो । यो ताल बजाउदा कतिपय गर्राका कलाकारहरु काम्ने पनि गर्दछन ।
सिंगारु - यो मध्य पश्चिम नेपालमा सिंगारु नाच्दा बजाइने ताल हो । यो नाच मादलको ताल अनुसार नाचिन्छ ।
पैसरी - दशैको कालरात्री देखि पंञ्चमीसम्म आयोजना गरिने सांङ्गीतिक कार्यक्रमहरूमा यो ताल बजाईन्छ । यसैको ताल बोल अनुसार नाच्ने गरिन्छ ।
सरुङ्गा - यो मगर जातीको प्रसिद्ध नाचको ताल हो । ३२ हात सम्मको अनेक ताल बजाई अलंका जुधाई मध्य पश्चिम नेपालमा यो नाच नाचिन्छ ।
टप्पा - यो मध्य पश्चिममा प्रचलित मुख्य ताल हो । टप्पा गीत गाएर नाचिने यो नाच अत्यन्तै रोचक र रमाइलो हुन्छ ।
लहरे पैसरी - यो ताल लहरे पैसरी नाच्दा बजाइन्छ । लहरै नर्तकहरू नाच्ने बेलामा बजाइने भएकोले यो ताललाई लहरे पैसरी भनिएको हो ।
गुरु पैसरी - मध्यपश्चिम नेपाल उदगम स्थल रहेको यो ताल गुरु पैंसरी नाच्ने बेलामा बजाइन्छ ।
सषि - यो मादलको अत्यन्त पुरानो ताल हो ।
लकोसोरे - यो सल्यान क्षेत्रमा गाइने गीतमा बजाइने ताल हो । यो बिहानीपख मात्र बजाइन्छ ।
मारुनी - यो नाचमा बजाइने अनेकों ताल हुन्छ । धार्मिक कथामा आधारित यो गीत गाई यो अनेकौं तालमा बजाइन्छ ।

नेत्र घ र्ती मगर, देबिस्थान -५,म्याग्दी

1 comment:

Anonymous said...

Hello. This post is likeable, and your blog is very interesting, congratulations :-). I will add in my blogroll =). If possible gives a last there on my blog, it is about the Celular, I hope you enjoy. The address is http://telefone-celular-brasil.blogspot.com. A hug.